नया बर्ष


बादलुको पर्दा स्वाट्ट उघारेर
प्रकृतिले आँचल फेर्दा,
हरिया जङ्गलका कलिला पातहरुभित्र
लुकामारी खेल्दै जव
गाउछे कोईलीले गित,
सुटुक्क एन्टिनाले नियाल्दै
बाहिरी संसार,
यार्सागुम्बाले
फेर्छ आफ्नो रुप ,
टुप्लुक्क आउछ मेरो नयाँ बर्ष
मलाई स्वागत गर्न ।

थकित मस्तिष्कबाट कोमल भावले
जुर्मुराउदै उभिन्छन आशाका लहरहरु
तुर्लुङ्ग झुण्डिन्छन सपनाहरु आँखामा
खातमाथी खात लाग्छन आकङ्क्षाहरु
आफ्नै मन मस्तिष्कमा

हरियो फरिया फेरेर
स्नानगृहबाट निस्कदाझै
लहराउदा केशबाट,
तप्प तप्प चुहाउदै पानीका थोपा
मन्द मुस्कान छर्ने नवयौवनाको ।
वैश छल्किन्छ जव
मेरो हिमाल मुसुक्क मुस्कुराउछ ।

होलीको रङ्गले रङ्गिएर
पतझरको नयाँ पालुवा सङ्गै
बचेराको चिरविर शुरु हुन्छ अनि
पिपिरो घाँसका गाँजहरुमा
बुरुक्क उफ्रदै,
चर्न थाल्छन मृग शावकहरु
ढकमक्क फुलेर गुराँसले लालिमा छर्छ तव
घरक्क दैलो उघारेर
बढदै गरेको मेरो अल्छीपनलाई
टाढा लखेट्दै
साउती मार्न आईपुग्छ

मेरो नयाँबर्ष !

Comments

Popular posts from this blog

माछापुच्छ्रे

राष्ट्रवाद