नया बर्ष
बादलुको पर्दा स्वाट्ट उघारेर प्रकृतिले आँचल फेर्दा , हरिया जङ्गलका कलिला पातहरुभित्र लुकामारी खेल्दै जव गाउछे कोईलीले गित , सुटुक्क एन्टिनाले नियाल्दै बाहिरी संसार , यार्सागुम्बाले फेर्छ आफ्नो रुप , टुप्लुक्क आउछ मेरो नयाँ बर्ष मलाई स्वागत गर्न । थकित मस्तिष्कबाट कोमल भावले जुर्मुराउदै उभिन्छन आशाका लहरहरु तुर्लुङ्ग झुण्डिन्छन सपनाहरु आँखामा खातमाथी खात लाग्छन आकङ्क्षाहरु आफ्नै मन मस्तिष्कमा हरियो फरिया फेरेर स्नानगृहबाट निस्कदाझै लहराउदा केशबाट , तप्प तप्प चुहाउदै पानीका थोपा मन्द मुस्कान छर्ने नवयौवनाको । वैश छल्किन्छ जव मेरो हिमाल मुसुक्क मुस्कुराउछ । होलीको रङ्गले रङ्गिएर पतझरको नयाँ पालुवा सङ्गै बचेराको चिरविर शुरु हुन्छ अनि पिपिरो घाँसका गाँजहरुमा बुरुक्क उफ्रदै , चर्न थाल्छन मृग शावकहरु ढकमक्क फुलेर गुराँसले लालिमा छर्छ तव घरक्क दैलो उघारेर बढदै गरेको मेरो अल्छीपनलाई टाढा लखेट्दै साउती मार्न आईपुग्छ मेरो नयाँबर्ष !







Comments
Post a Comment