दशैं
हिँड्दाहिँड्दै
कुहिरोले बाटो छेकेर
रुमलिदैँ
बाटो बिराएर
झुर्लुक्क
झुल्कने घाम जस्तै
मुतको न्यानो दिलाउन
आउँछ ढोल बजाउँदै
दशैँ ।
अन्नपातको जोहो गर्न नसक्ने
भरिया र खाट्टी मजदुरका घरमा ,
चिसो चुह्लोलाई ओभानो
पार्दैन कहिल्यै ,
नेताले बाँडेको खोक्रो आश्वासनझैँ
कुनै अदृश्य देवीले
अमन चैन दिने आशमा
रक्षा गर्छिन् भन्ने सङ्कल्प लिएर।
रोगले खिइदैँ गएको शरीर
भोकले सारङ्गी बनेको पेट
उमेर नपुगी चाउरी परेको अनुहार
खै चिन्दैन दशैँले !!
इमानदारका घरमा भ्रष्ट बनेर
सज्जनका घरमा दुर्जन बनेर
पैसावलाका घरमा अवसर बनेर
धनीका घरमा चैन बनेर
गफाडीको गफ बनेर
जुवाडेको जुवा बनेर
ट्वाकेन्द्रको ह्विस्की बनेर
आउँछ दशैँ !
तर ,
दशैँ कहिल्यै
भ्रष्टलाई अख्तियार बन्दैन
नाङ्गालाई लुगा बन्दैन
भोकालाई भोजन बन्दैन
नाङ्गाको घरमा लुगा खै ? बनेको
रोगीको सिटामोल त कुन्नि !
घाइते मनको मलम
बन्दैन दशैँ ,
दशैँ त केवल, उत्सव हो
जहाँ निर्दोष पशुहरुलाई
बली दिइन्छ
निमुखा जनको इच्छाको पनि
हुन्छ बली
बाहिर देखिन्छ खसीको खुवा
तर चुसीरहेछन् खुन यहीँ
आडम्बरीहरु, भ्रष्टहरु अनि
मुठ्ठीभर सम्पन्न सामन्तीहरु
गरिब र निमुखाको
दशैँको नाम लिएर ।
Comments
Post a Comment