माछापुच्छ्रे

स्वर्णिम हिम चादरको आँचल ओढी
हरियो फरियाले ढपक्क ढाक्दा
आफ्नो आङ्,
लालीमय उषादेखि
गोधूली सन्ध्यासम्म
बादलुको पर्दाबाट चिहाएर
मसँग लुकामारी खेल्दा
शीतल पवनले
सर्लक्क सुकाई दिँदा जिउका पसिना ,
मुसुक्क मुस्कुराउथ्यौ तिमी दन्त लहर फिँजाएर । म हेर्दै टोलाउँथे देउरालीबाट लोलाएर .....।

काउकुतीले सताउथ्यो मलाई
तिम्रो रुपको वर्णनले मात्र पनि
तिमीमा स्पर्शित पवनले
हर्ष र आनन्दको वर्षा गराउथ्यो ममा
अनि हराउथेँ टोलाएर
स्मृतिपटलमा सल्बलाउने
ती मनमोहक ती दृष्यहरु
तिमीभित्र छिपेका विभिन्न आकृतिहरु मनभरि कल्पिएर ।

बाघजस्तै निर्भिक
जीवनसँग सन्तुलन राख्दै,
घोडाजस्तै कुदेर प्रगतिको शिखर चुम्ने उत्कण्ठा मेरो,
तिम्रो कौमार्य जन्मजन्मान्तर पाउने अभिलाषा साँचेर ।

तर ..............?
ओ माछापुच्छ्रे !

तिम्रो
कौमार्य नै फिक्का लाग्दैछ आज
बुढ्यौलीका स्पष्ट रेखा तिम्रा भावाङ्गीमा झुल्किदा
शीतल पवन पनि कर्कश स्याँठ लाग्छ ।
देउरालीको सिर्सिरे,
मुटु छुने सिरेटो लाग्छ ।

सिकार भइसकेछ घोडा ..........................
तिमीभित्रकै बाघबाट ?
अहँ,
हैन !
हामी मानवबाट
हाम्रो मानवताबाट !
त्यसैले त उसको पनि वध निश्चित छ
निश्चित छ त्यो बेला
तिम्रो रुप हेरेर म टोलाउने छैन
अब तिमीसँगको लुकामारी व्यर्थ हुँदैछ,
व्यर्थ हुदैछ
तिम्रो रुपको प्रशंसा ।
झल्को लाग्दैछ तिमीमा
लक्ष्मणको छुरा चलेकी शुपर्णखाको !

Comments

  1. superb mukti bro
    keep it up better u try it for publishing in national daily
    its really nice and heat touching

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नया बर्ष

राष्ट्रवाद